जनकपुरधाम, जानकी मन्दिर फुलबारी जग्गा बारे गुठी संस्थान जनकपुरले जनकपुरधाम उपमहानगरपालिकालाई अतिक्रमण नगर्न भनेको छ ।
नागरिक समाजका अगूवा मुरली मनोहर मिश्रले जानकी मन्दिरको जग्गा मिचेर सडक विस्तार गरिएको दिएको निवेदनमा आइतवार गुठी संस्थानले पत्राचार गरी सडक विस्तारको क्रममा मन्दिरको जग्गा नमिच्न निर्देशन दिएको छ ।
गुठी संस्थान अन्तर्गत रहेको जानकी मन्दिरको जग्गा अतिक्रमण हुन नपाउने गरी आवश्यक कारवाही गर्न गुठीको पत्रमा उल्लेख छ । सडक विस्तारको क्रममा उपमहानगरपालिकाले व्यक्तिको जग्गा बचाउन आपसी लेनदेनको आधारमा एकतर्फी रुपमा जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण गरेको आरोप लाग्दै आएको छ ।

सो जग्गा प्रकरणमा तीन/तीन पटक सर्भे नापी समेत भइसकेको छ । तर त्यो नापजाँचमा मन्दिरको जग्गा मिचिएको देखिएपनि उपमहानगरपालिकाले त्यो निर्णय नमानेर बलजफ्ती गर्दै आएको छ । पहिलो पटकका नापीमा उपमहानगरपालिकाले आफ्नो उपस्थिति जनाएपछि दोश्रो नापजाँचमा उपस्थित भएन ।
घटना सम्बन्धमा कुरा गर्दै गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठप्रसाद रेग्मीले भने नापजाँचमा जग्गा मिचिएको सम्बन्धी एक प्रतिवेदन समेत तयार भएको छ । त्यो प्रतिवेदन हामी कहाँ पुगेको छैन, गुठी संस्थान अन्तर्गत मन्दिर रहेपनि नापजाँचमा हामीलाई उपस्थित गराइएको छैन, तरपनि हामी मन्दिरका जग्गा नमिच्न उपमहानगरपालिका भनिसकेका छौ ।
जनकपुरधाम उपमहानगरपालिकाले एडीबी परियोजना अन्तर्गत निर्माणधीन सडक विस्तारको क्रममा व्यक्तिको निजि जग्गा बचाउन जानकी मन्दिर फुलबारीको करीब ४ कट्ठा १ धुर जग्गा अतिक्रमण गरेको मंगलवार सार्वजनिक गरिएको नापजाँच प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रयासमा नापी कार्यालयद्वारा सरोकारवाला निकाय, बुद्धिजीवी र नागरिक समाजको रोहबरमा गरिएको स्थलगत नापचाँचबाट जानकी मन्दिर फुलबारीको सि.न. १३५५—२४ को कि.नं. ८ मा उत्तर मोडमा ४.८८ र ४.८५ मीटर, बीचमा ०.७० र पुर्व दक्षिण मोडमा ३ मीटर गरी कुल ०—०—४—१ धुर जग्गा अतिक्रमणमा परेको ठहर गरिएको छ ।
सो सि.नं. कि.नं. २५४ मा मात्र १ मीटर, २५५ मा ०.९० मी., १५० मा ०.७०, २५२ मा ०.६० मीटर मात्र जग्गा लिइएको छ । तर कि.नं. ३४, ३५, ६२, ६३, १३८ मा एक इन्च पनि जग्गा सडक विस्तारमा नलिइएको नापजाँच पश्चात तयार पारिएको प्रतिवेदनमा भनिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !