जनकपुरधाम, गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको आक्रमण घटनाको न्यायका लागि पत्रकारहरु अदालतमा मुद्दा हाल्ने निर्णय गरिएको छ ।
घटना पश्चात गठित संघर्ष समितिको शनिवार बसेको बैठकबाट सम्बन्धित निकाय न्याय दिलाउन चासो नलिएपछि पिडीत पत्रकारहरु जनकपुर उपमहानगरपालिका सहित घटनामा संलग्नहरु विरुद्ध अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित काम गरेका पत्रकारहरुलाई कारवाही गर्ने निर्णय सर्वसम्मतिले निर्णय गरिएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णको संयोजकत्वमा रहेको सो संघर्ष समितिले ७ दिनभित्र पीडित पत्रकारहरुले अदालतमा मुद्दा हाल्ने र समितिको निर्णय विपरित समाचार सम्प्रेषण गरेका लाई कारवाही तथा घटनालाई बढाई चढाई पत्रकारलाई अपहेलित हुने गरी संचार माध्यम विरुद्ध समेत मुद्दा हाल्ने निर्णय गरिएको जनाइएको छ ।
समितिको निर्णय विपरित समाचार सम्प्रेषण गर्ने पत्रकारलाई कारवाही स्वरुप छानबीनका लागि पत्रकारहरु अजय अनुरागी, घनश्याम मिश्र र दिपक कर्णको सहभागितामा ३ सदस्य समिति समेत गरिएको छ । सो समितिले छानबीन गरी प्रतिवेदन महासंघको जिल्ला शाखालाई बुझाउने छ र सोही प्रतिवेदनका आधारमा महासंघले कारवाही प्रक्रिया अघि बढाउने छ ।
जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा समाचार संकलनका लागि गएका पत्रकारहरुलाई योजनाबद्ध तरिकाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्ष र उनकै उपस्थितिमा कुटपिट गरिएको थियो । घटना पश्चात उपमहानगरपालिकाले केही पत्रकारको नामै किटान गरी अपराधी र गुण्डा लगायतका शब्द प्रयोग कारवाहीको मांग गर्दै निर्णय गरेको थियो ।
उपमहानगरपालिका केही कर्मचारी र वाह्य व्यक्ति सम्मिलित समूहको आक्रमणबाट पत्रकार राजा झा, अमरकान्त ठाकुर, सुभाष कर्ण र सुमित मिश्रालाई कुटपिट गरिएको थियो । कुटपिट गर्नुका साथै पत्रकारहरुको संचार सामाग्री क्यामेरा र मोबाइल समेत खोसेर तोडफोड गरिएको थियो ।
घटनाको केही दिनपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अगुवाई सर्वपक्षीय बैठकबाट घटनामा संलग्नहरुलाई कारवाही गर्ने निर्णय गरिएको थियो । तर सो निर्णय आजसम्म कार्यान्वयन हुन सकेको छैन । धमेन्द्र साह भन्ने एक व्यक्तिलाई पक्राउ गरिएपनि जनकपुर उद्योग वाणिज्य संघको दबावमा धरौटीमा जिल्ला प्रशासन कार्यालयले रिहा गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !