जनकपुरधाम, विश्वभरि त्रास फैलाएको कोरोना भाइरसको संक्रमण धनुषाका दुई युवकमा फेला परेको आशंका गरिएकोछ ।
भारतीय संचार माध्यमहरुद्वारा प्रकाशित समाचार अनुसार रोजगारीका लागि भारतको अहमदाबाद गएका ती युवकहरुलाई फर्किदै गरेको बेला कोरोना भाइरसको लक्षण देखिएपछि भारत बिहारको मधुबनी जिल्लाको जयनगर स्थित सदर अस्पतालमा भर्ना गरिएको थियो ।
यद्यपी, धनुषाको जनकनन्दी गाउँपालिका निवासी ती दुवै युवकमा कोरोना भाइरसको संक्रमण नरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले दाबी गरेको छ । जिप्रका धनुषाका डिएसपी एवम् प्रहरी प्रवक्ता रामेश्वर कार्कीले निज युवकहरुमा कोरोनाको संक्रमण रहेको हल्ला मात्र भएको बताएका छन ।
अहमदाबादबाट आउंदै गर्दा ट्रेनमै ती युवकहरु स्वास्थ्य अवस्था खराब भएपछि कोरोनाको आशंकामा तिनीहरुलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरियो तर उपचारपछि रिपोर्ट निगेटिभ आएको डिएसपी कार्कीले बताएका छन ।
तर भारतीय संचारमाध्यमका अनुसार भाइरसको आशंकामा दुवै जनाको सैम्पल नेगेटिभ आएसम्म निगरानीमा राखिनेछ । रिपोर्ट आउन कम्तिमा १४ दिन लाग्न सक्नेछ । त्यसपछि मात्र कोरोना भाईरसबाट पीडित भएको वा नभएको भनेर पुष्टि गरिने भनिएको थियो ।
यसैबीच बिहीवार अस्पताल रिपोर्ट निगेटिभ आएपछि सदर अस्पतालबाट डिस्चार्ज भई चेकजाँचका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । प्रादेशिक अस्पतालको चेकजाँचपछि तिनीहरु परिवारको जिम्मा लगाइने बुझिएको छ ।
यस सम्बन्धमा भारतीय सीमा लगत्तै रहेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हृरेन्द्र रोकायाले रिपोर्ट नेगेटिभ आएपछि तिनीहरुलाई सदर अस्पतालबाट डिस्चार्जपछि नेपाल ल्याइएको र उनलाई विशेष चेकजाँचका लागि प्रादेशिक अस्पताल पठाइएको बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !