लोक समाचारदाता
जनकपुरधाम, फागुन २८ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले “टोले गुण्डा” भनिएका रुफटप होटलका संचालकलाई सञ्चार उद्यमी प्रमोद अग्रवाललाई कुटेको प्रकरणमा खोजी कार्य जारी राखेका छन ।
प्रहरीले टोले गुण्डा पक्राउ अभियान शुरु गरे लगतै साह सहितका गुण्डाहरुको भागाभाग भएको छ ।
सञ्चारउद्यमी प्रमोद अग्रवाल ‘पप्पु’लाई सार्वजनिक रुपमै कुटपिट गर्ने टोले गुण्डा धर्मेन्द्र साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न प्रहरीको टोलीनै खटाएको छ । प्रहरीको गुण्डा सुचिमा समेत रहेका साह सञ्चारउद्यमी अग्रवाललाई कुटपिट गरेपछि फरार भएका छन ।
गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधी पसल सञ्चालन गर्दै आएका अग्रवाललाई जबर्जस्ती धाकधम्की देखाएर सो जग्गा मध्ये १० फिट जग्गा कब्जा गर्न खोजेको उजुरी समेत प्रहरीमा परेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले संचार क्षेत्र र त्यसका उद्यमीहरुलाई कुटपिट गर्ने धाकधम्की देखाउने अपराधीहरुको सफाया हुने बताएका छन् । पछिल्लो पटक समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानरपालिकाका पत्रकारहरुलाई कुटपिट घटनामा संलग्न रहेको आरोपमा २ दिन थुनामा राखि प्रजिअले धरौटीमा रिहा गरेको थियो ।
साहको यो कुनै नौलो घटना होइन यसअघि पनि जनकपुरधाम स्थित अक्षर विद्या मन्दिरका संचालक पंकज जालानलाई समेत कुटपिट गरेका थिए । साहलाई जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधामका मेयर लालकिशोर साहले पृष्टपोषण गरेको कारण मनोबल बढदै गएको हो ।
यसैबिच जनकपुर टेलिभिजनका सञ्चालक प्रमोद अग्रवालमाथि रुफटप रेस्टुरेन्टका सञ्चालक धर्मेन्द्र साहले हातपात एवं दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ धनुषाले घटना निन्दनीय र सञ्चार क्षेत्रमाथिकै शृङ्खलाबद्ध आक्रमणको एक उदाहरण रहेकोले घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी कडा कारवाहीको माग गरेको छ ।
सञ्चार जगत उपर पटक पटक आक्रमण हुँदा समेत प्रशासनको मौनता दुःखद रहेको महासंघ धनुषा शाखाका सचिव पुरन गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनाको निष्पक्षरुपमा छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै यस्तो घटना पुनः नदोहोरिने वातावरणको निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै माग उपर सुनुवाइ नभए संघर्षमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।
त्यस्तै मधेशी पत्रकार समाज धनुषा र जनकपुर टेलिभिजनले पनि एक प्रेस विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारवाहीको सम्बन्धित निकायसंग मांग गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !