लोक समाचारदाता
जनकपुरधाम, फागुन २६ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको होलीको अवसरमा महामूर्ख बनाइएको छ ।
हिन्दुहरुको महापर्व होलीको अवसरमा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद (मिनाप) द्वारा होली पर्वको पुर्व सन्ध्यामा आयोजित महामूर्ख सम्मेलनमा मुख्यमन्त्री राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मानित गरिएको हो ।

मुख्यमन्त्री राउतलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला लगाई महामूर्ख सम्मानपत्र सहित सम्मानित गरिएको छ । मुख्यमन्त्री साथै प्रदेश सांसद मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकैवा, रामचन्द्र मण्डललाई सिलौटशंकर र रामआशिष यादवलाई हराशंखको उपाधि दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो यो क्षण हाम्रो लागी अविस्मरणीय रहनेछ । किनकी आजसम्म म कतैपनि महामूर्ख बने थिएन, यहाँ आएर महामूर्खको उपाधि पाएर आफू गौरवान्ति भएको छु ।

त्यसैगरी सो महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई बैलघोगना, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरलाई खेसारी लाल, पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम रौनियारलाई खाबसुरतको उपाधि दिइएको छ ।
त्यस्तै प्रधानाध्यापक बलिराम साहलाई बज्रकीट, कवित्री पूनम मिश्रलाई अदलबदली, रामानन्द युवा क्लबका पुर्व अध्यक्ष जीवनाथ चौधरीलाई घर घुसना, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई लोहाशंकर र युवा अभियन्ता शुशिल कर्णलाई वंशकुरहरको उपाधी दिइएको हो ।

महामूर्ख सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हास्य उपाधी दिएसंगै कविता वाचन र होलीको लोकगीत र होरैया गीत समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन प्रदेशका मन्त्रीहरु महिलाप्रति आकर्षित हुने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली मधेशलाई कसरी फुट गराइरहेको रहेको शिर्षकको हास्य नाट्य मंचनबाट गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !