
लोक समाचारदाता
विरगञ्ज, फागुन २५ गते ।
प्रहरीले बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई १२ बर्षपछि पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा फौजदारलाई गतराती बाराको बारागढी गाँउपालिका ६ गडहलगाँउ स्थित आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वि.सं. २०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाँउ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेको एक महिनापछि हत्या भएको अवस्थामा शव बरामद भएको थियो ।

साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।
तर अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तराष्ट्रिय स्तरमा आवाज उठन थालेपछी खोजतलास गर्दै जाँदा झण्डै एक महिनापछि प्रहरीले पत्रकार साहको शव फेला पारेको थियो ।
बाराको पपिरा गाँउबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो । साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल, लगायत दुुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।
स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाताको रुपमा काम गर्दै आएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !