लोक समाचारदाता
जनकपुरधाम, फागुन २४ गते ।
स्थानीय सरकार र प्रशासनबाटै बालुवा गिट्टीको अवैध उत्खनन कार्यलाई बढावा दिइरहेको आरोप लगाइएको छ ।
धनुषाको मिथिला नगरपालिका हरिहरपुर स्थित जलाद नदीबाट बालुवा गिट्टी उत्खन्न कार्य स्थानीयले रोक्न खोज्दा प्रहरी प्रशासन लगाएर अवैध उत्खन्न गराइयो । क्रसर संचालकले प्रमुख जिल्ला अधिकारी र नगरपालिका मेयरको स्वीकृति रहेको भनेपनि स्थानीयले उत्खनन गर्न दिएन ।
पछि स्थानीय प्रहरीको कडा सुरक्षाका बीच स्थानीयलाई लखेटेर बालुवा गिट्टीको अवैध उत्खन्न गराइयो । स्थानीयले अवैध उत्खन्नले गर्दा नदि दोहन संगै खेतीयोग्य जग्गा र बस्तीमा क्षति पुगेको भन्दै रोक लगाएका थिए ।
घटना बारे प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले केही स्थानीयले हुलदंगा गरेको थियो, शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट त्यहाँ प्रहरी पठाइएको जानकारी दिएका छन ।

उनले भने विवाद गरिएको घटनास्थलमा मापदण्ड अनुसार नै ग्राभेल उठाउने कार्य भइरहेको थियो, अवैध भए हामी केही गर्न सक्थ्यौं । प्रदेश सरकारले बनाएको मापदण्ड अनुसार स्थानीय तहले ठेक्का लगाएको हो, मापदण्ड पुरा गरेकालाई सुरक्षा दिन हाम्रो दायित्व हो ।
प्रजिअ कणेलले हुलाकी सडक, सिक्स लेन रोड र रेलवे पुर्वाधार सहित विभिन्न निर्माणको कार्य भइरहेको छ, सबैलाई बालुवा, गिट्टी चाहियो, यदि उपलब्ध गराइएन भने कसरी विकास हुन्छ । विकास निर्माण त जरुरी छ नै तर विकासको नाममा मापदण्ड पुरा नगरी अवैध उत्खन्न गरियो त्यो गलत हो हामी त्यस्तालाई कारवाही गर्ने नै छौं भने ।
घटना बारे मेयर हरिनारायण महतोसँग जिज्ञासा राख्न खोज्दा मोबाइल स्वीच अफले सम्पर्क हुन सकेछ । नदीजन्य पदार्थको ठेक्कामा प्रदेश सरकारले ६० प्रतिशत र स्थानीय तहले ४० प्रतिशत रकम पाउने हो ।

गत पुस २४ गतेका दिन सोही नगरपालिकाको औरही खोलामा अवैध उत्खन्न कार्य रोक्न गएका अभियन्ता दिलिप महतोको हत्या गरिएको थियो । क्रसर संचालकले अवैध कार्यमा अवरोध उत्पन्न गरिरहेको भन्दै दिलिपको निर्ममतापुर्वक हत्या गराएको थियो ।
स्थानीयले अवैध उत्खन्न कार्य रोक्न र मृतक दिलिपलाई पर्यावरण शहीद घोषणाको मांग गर्दै आन्दोलनरत रहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !