लोक समाचारदाता
जनकपुरधाम, फागुन २२ गते ।
हुलाकी सडक निर्माणमा प्रयोग भइरहेका ६ वटा गाडीमा आगजनी भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै ती गाडीहरुमा आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ ।
आगजनी भएका गाडीहरु हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका भएको जनाएको । आगजनीका कारण सबै गाडीहरु जलेर पूर्णरुपमा नष्ट भएका छन् । कृष्णनगरबाट आएको दमकलले आगो निभाएको थियो ।
सडक निर्माणमा खटिएका कामदारहरुलाई कोठाभित्रै थुनेर राति करिब १ बजे अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएका छन् । आगजनी कसले र किन गरेको हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !