लोक समाचारदाता
काठमाडौं, फागुन २२ गते ।
राष्ट्रिय बीउ बिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारी सहितका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले कम्पनीका प्रबन्ध संचालक धर्मराज अधिकारी, युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाल, बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारी, कम्पनीका महाशाखा प्रमुख महेशकुमार पौडेल, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोरकिपर धर्मेन्द्रकुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७३/७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो । कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदान सम्बन्धी कार्यविधि, २०६८ अनुसार वितरण नगरी खरिद तथा बिक्रीवितरण गरिएको नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको पाइएकाले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ ।
सरकारी अनुदानमा बिक्रीवितरण गर्नुपर्ने ११८ मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजात बनाएको पाइएको छ । आयोगले कम्पनीका प्रबन्ध सञ्चालक अधिकारीविरुद्ध रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । त्यस्तै युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष ढकालविरुद्ध आयोगले रु ३५ लाख छ हजार ४०० बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक अधिकारीविरुद्ध रु ११ लाख ८ हजार ८०१, बीउबिजन कम्पनीका कामु महाशाखा प्रमुख ओझाविरुद्ध रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
त्यस्तै सोही कम्पनीका महाशाखा प्रमुख पौडेलविरुद्ध रु ४६ लाख १५ हजार २ सय १, कम्पनीका तत्कालीन शाखा अधिकृत थापाविरुद्ध रु ४६ लाख १५ हजार २ सय १, आर्थिक महाशाखाका वरिष्ठ सहायक श्रेष्ठ र स्टोरकिपर झाविरुद्धसमेत रु ४६ लाख १५ हजार २ सय १ बराबरको भ्रष्टाचार गरेको आरोप सहित मुद्दा दायर गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !