लोक समाचारदाता
जनकपुरधाम, फागुन २० गते ।
प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन फागुन २३ गते मतदान हुने भनिएको गोप्य मतदान कार्यक्रम चैत १ गतेका लागि सारिएको छ ।
कार्य सम्पादन समितिको बैठकबाट फागुन २२ गते प्रदेश सभाको बैठक बसेर २३ गते मतदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रदेश सभा सचिवालयले सूचना पनि जारी गरियो तर विशेष कारणवश सो कार्यक्रमलाई स्थगित गरिएको हो ।
सचिवालयका सचिव रंजित यादवले कार्य सम्पदान समितिले गरेको निर्णय अनुसार सचिवालयले सूचना जारी सबै माननीयहरुलाई जानकारी पनि गराइयो तर सूचना जारी भएकै दिन बेलुका तिर त्यसलाई विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन ।
उनले प्रदेश सरकारको आग्रहमा सदनले गरेको तयारीमा अपुग भएको भन्दै २२ गते बोलाइएको बैठक ३० गते १ बजे बस्ने र फागुन २३ गते गोप्य मतदान गर्ने प्रक्रियाको मिति सारेर चैत १ गतेका लागि सूचना जारी गरिएको जानकारी दिएका छन ।
फागुन ३० गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान गराउने सदन सचिवालयले तयारी रहेको छ ।
गत ३ महिनादेखि नाम र राजधानीको टुंगो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समितिले सबैदलसँग छलफल गर्दै आएको थियो । स्थायी राजधानी जनकपुरधाम राख्ने सर्वसहमत भएपनि नाम बारे विवाद कायमै रहयो ।
समितिबाट नाम बारे टुंगो लाग्न नसकेपछि कार्य सम्पादन समितिले गोप्य मतदान प्रक्रियाबाटै टुंगो लगाउने निर्णय गरेको हो ।
सत्तारुढ दल राजपा नेपाल र समाजवादी प्रदेशको नाम मधेश प्रदेश तथा प्रतिपक्षी कांग्रेसले मिथिला, नेकपाले जानकी प्रदेश राख्ने प्रस्ताव दर्ता गराएका थिए । तर संसदीय विशेष समितिको कयौं पटकको बैठक पश्चात प्रतिपक्षी दलहरुले लचलकता अपनाउंदै नेकपाले जानकी मधेश र कांग्रेसले मिथिला मधेश प्रदेश राख्ने निष्कर्षमा पुगेका थिए ।
प्रदेश २ मा सत्ता साक्षेदार समाजवादीको ३० र राजपाको २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाको ३२, कांग्रेसको १९ र एकजना रिजवान अन्सारीका पार्टीका सांसद छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !