लोक समाचारदाता
जनकपुरधाम, फागुन १३ गते ।
आफ्ना जन्मदिनको अवसरमा देशको नक्साको केक बनाएर समाजिक सञ्जालमा भाइरल भएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रद्रोहको मुद्दा लगाउनु पर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मांग गरेका छन् ।
धनुषाको कचुरीमा समाजवादी पार्टी कार्यालय उद्घाटनको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले राष्ट्रियताको नाउमा महेन्द्रवाद लाद्न खोजेको आरोप लगाउंदै नेपालको नक्सासँग खेलवाड गर्ने विरुद्ध राष्ट्रद्रोहको मुद्दा लगाउनु पर्छ भने ।
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नेपालको नक्सा बनाइएको केक प्रति असंतुष्टि व्यक्त गर्दै मन्त्री यादवले भन्नु भयो ‘नेपालको नक्सा सहितको केकलाई खण्ड खण्ड खानु भनेको राष्ट्रको अखण्डता, सर्वभौमतामाथिको प्रहार रहेको दाबी गरे ।
उनले भने आम जनताले देशको नक्सासँग खेलवाड गर्दा तिनी विरुद्ध कारवाही हुन्छ भने पदीय दुरुपयोग गर्दै नक्सा सँग खेलवाड गर्ने प्रधानमन्त्री विरुद्ध देशद्रोहको मुद्दा लगाउनु पर्छ ।
साथै मन्त्री यादवले राष्ट्रलाई टुक्रा टुक्रा गर्ने प्रयास गर्ने जस्ता प्रधानमन्त्रीलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने अधिकार नरहेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माँग समेत गरे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !