लोक समाचारदाता
जनकपुरधाम, फागुन ११ गते ।
मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रुपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको प्रस्थान शुभारम्भ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर गरेका छन ।
नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट भगवान श्रीरामको डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।
दुवै मन्दिरबाट उठेको डोला जनकपुरको हनुमान नगरस्थित हनुमान गढीबाट परिक्रमाका लागिबाट संगै उठेपछि औपचारिक शुभारम्भ वर्षौदेखि परम्परा अनुसार हुंदै आएको छ । तर यसवर्ष परिक्रमा प्रस्थानको अध्यक्ष प्रचण्डले भगवान श्रीराम अर्थात मिथिलाबिहारीको डोला उठाएर शुभारम्भ गरेका हुन ।
डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने दाबी गरेका छन ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने भन्दै यसका लागि राजपा नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने भने ।
उनले मिथिलाविहारी नगरपालिका स्थित कचुरीको मिथलाविहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा गरे । उनले भने ‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । मेरो तर्फबाट जति सम्भव सहयोग गर्छु । कुनै कमी रहन दिन्न’ ।
मिथिला मध्यमा परिक्रमाले नेपाल–भारतको लागि महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदान प्रदानामा ठुलो योगदान पुर्याइरहेको बताए । आफु पहिलो पटक प्रधानमन्त्री रहेको बेला परिक्रमा मार्गको लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा मिथिला विहारी डोलामाथि हेलिकप्टरबाट पुष्प वर्षा समेत गरिएको छ ।
फागुन शुक्ल औंसी तिथीको दिन कचुरीबाट मिथिला बिहारीको डोला लिएर सुरु भएको परिक्रमा साँझसम्म जनकपुरधामस्थित रत्नसागर मन्दिर पुग्दै हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलना स्थित कल्याणेश्वर मन्दिरको लागि प्रस्थान गर्नेछन् ।
१५ दिने अवधिमा १५ वटा धार्मिक ऐतिहासिक ठाँउहरु मध्ये ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारतको गरि जम्मा १ सय २० किलोमिटर भु–भागको यात्रा मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत गरिने गरिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !