लोक समाचारदाता
जनकपुरधाम, फागुन ६ गते ।
धनुषाको मिथिला नगरपालिका निवासी अवैध उत्खनन अभियन्ता दिलीप महतोको हत्या आरोपमा रिहापछि पक्राउ परेकाहरुको रिट खारेज भएको छ ।
गएको शुक्रबार नै पक्राउ गरेको विरुद्ध धनुषा प्रहरीमाथि तिनैजना आरोपीका आफन्तले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय धनुषालाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो । सो रिटमा सुनुवाई उच्च अदालत जनकपुरका न्यायधीश बालकृष्ण उप्रेती र उज्जवल शुक्लको संयुक्त इजलासले खारेज गर्ने फैसला गरेको हो ।
दिलिपको हत्या आरोपमा जिल्ला अदालत धनुषाबाट गएको बुधबार २५/२५ हजार रुपैयाँ धरौटी दिई रिहा भएका क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो, बृजमोहन भनिने शत्रुधन महतो र रोशन यादवलाई तत्कालै प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको थियो ।
गत पुस २५ गते विहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई घरनजिकैको औरही खोलामा अबैध खोला उत्खनन रोक्न गएको बेला फलामको लिभरले हत्या गरी घटनालाई दुर्घटनामा परिणत गर्न टिपरले किचिएको थियो ।
दिलीपको हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक विपिन महतो, किच्ने टिपर चालक मुनिन्द्र महतो र लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
सोही घटनामा अन्य आरोपित भनिएका सत्यनारायण, बृजमोहन र रोशनलाई घटनामा प्रत्यक्ष संलग्नता नदेखिएको भनी अदालत २५/२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेश लगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनले हो हल्ला गर्दा पुनः शान्ति सुरक्षा भंग गरेको आरोपमा प्रहरीले केहि समयमै अदालत परिसरबाटै फेरी पक्राउ गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !