लोक समाचारदाता
जनकपुरधाम, फागुन ३ गते ।
प्रदेश २ मा आफ्नै पार्टीका मन्त्रीलाई कालो मोसो दल्न गएका पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरु करीब ३ घण्टापछि रिहा भएका छन ।
शनिवार राजपा नेपालका धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानसँग दुव्र्यवहार गरिएका भन्दै राजपाका कार्यकर्ताहरुले आफ्नै पार्टीका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न पुगेको क्रममा जनकपुरधाम स्थित जानकी हेल्थकेयरबाट पक्राउ परेका थिए ।
शनिवार बिहान जनकपुरको जानकी हेल्थकेयरमा एक खोप कार्यक्रममा सहभागि हुन गएका मन्त्रीसाहलाई राजपा सँग आबद्ध युवा तथा कार्यकर्ताहरुले घेरेर नाराबाजी गर्दै कालोमोसो दल्नै लाग्दा सुरक्षार्थ खटिएका प्रहरीले १० जनालाई पक्राउ गरेको थियो ।
कालोमोसो गर्ने युवाहरले योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि तिनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा रोशन मिश्र, रोशन साह, गौतम झा, अशोक यादव, करण मिश्र, विरेन्द्र साह, दिनेश यादव, मुकेश झा, एजाज अन्सारी र शिव यादव रहेका छन ।
युवाहरुले कार्यक्रम स्थलमै मन्त्रीलाई घेरेपछि झण्डै १ घण्टा उनलाई अस्पतालमै बस्नु परेको थियो । पछि प्रहरी परिचालन गरी युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षितसाथ गन्तव्य स्थल पुर्याइएको छ ।
शुक्रबार राजपा नेपालका धनुषा अध्यक्ष मण्डलका सदस्य झा मन्त्री साहले मन्त्रालयको काम कारबाही बारे असन्तुष्टि व्यक्त गर्दा दुवै बीच विवाद भएको थियो । सोही क्रममा मन्त्री साहले झालाई औकात छ भने केही बिगारेर देखाउ देउ भनी धम्की दिएको थियो । सोही धम्कीलाई निहुँ बनाएर झा समर्थित युवाहरुले मन्त्री साहलाई कालोमोसो दल्न पुगेका थिए ।
झाले विवादपछि समाजिक सञ्जाल फेसबूकमा मन्त्री साहलाई इगिंत गर्दै कुनै सार्वजनिक कार्यक्रममा फेला परे कालोमासो दल्ने चेतावनी दिएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !