लोक समाचारदाता
जनकपुरधाम,फागुन २ गते ।
प्रदेश २ का राजधानी जनकपुरधाममा आउंदो फागुन १० गतेदेखि प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ ।
‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं,असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मूल नाराका साथ जनकपुरधाममा यो दोश्रो खाद्य मेला आयोजना हुन लागेको हो ।
शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने सो खाद्य मेला फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने कुरा जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनालले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा परम्परागत, स्थानीय,अल्प प्रचलनमा रहेका पोषिला खाद्य पदार्थहरुलाई प्रवद्र्धन गर्दै खानेबानीमा सुधार गर्ने उद्देश्यका सो खाद्य मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
विभिन्न समुदायको प्रचलनमा रहेका तथा विलुप्त हुँदै गएका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्वबारे जनचेतना अभिवृद्धि गर्न उद्देश्य समेत सो मेलाको रहेको उनले भने ।
मेलामा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी दिन ६० स्टल रहनेछ । बिभिन्न जातजातीसँग सम्बन्धित होटेलहरु, खाद्य व्यवसायीहरु, खाद्य उद्यमका लागि मेशिनरी उपकरण तथा प्रशोधनमा प्रयोग हुने रसायनका सप्लार्यहरु, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल रहने जनाइएको छ ।
मेलामा मिथिला भोजन सहित स्थानीय उत्पादनका साथै पूर्वको इलामको चियादेखि पश्चिम जुम्लाको अर्गा्निक कृषि उत्पादनसम्मलाई स्टलमा प्रमुखताका साथ सहभागी गराइने गरी २० हजार दर्शक भित्रियाउने लक्ष्य रहेको प्रमुख खनालले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !