लोक समाचारदाता
जनकपुरधाम, माघ २८ गते ।
कुनै समयमा गुणस्तरीय शिक्षाका लागि प्रख्यात रहेका जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखि क्याम्पस अहिले तलब सरकारको डियुटी निजी क्याम्पसमा दिने प्राध्यापकहरुको थलो बनेको छ ।
मंगलवार महिनामा मुश्किलले १० दिन आउने र हाजिरी महिनौभरि गर्ने प्राध्यापकलाई क्याम्पसकै विद्यार्थीहरुले फेला पारेका छन । उनीहरुले उपस्थित नभएका प्राध्यापकको हाजिरी भएको देखिएपछि हाजिरी रजिष्टर नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको थियो ।
क्याम्पसमा प्राध्यापकहरु नआएपनि फर्जी हस्ताक्षर रजिष्टरमा विद्यार्थीले पाएपछि नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय विद्यार्थी संघ सँग आबद्ध विद्यार्थीहरुले पैसा सरकारको र डियुटी निजी क्याम्पसमा दिने प्राध्यापकलाई कारवाहीको मांग गर्दै रजिष्टर नियन्त्रणमा लिएका थिए ।
बिबिए दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी आनन्द झाले राराब क्याम्पसमा अंग्रेजी विषयको अध्यापन गराउँदै आएका प्राध्यापकद्धय ईन्द्रदेव यादव र भोगेन्द्र अधिकारी महिनामा दश दिन क्याम्पस आउँछन् तर उनीहरुको हाजिरी भने नियमित रुपमा बन्ने गरेको रजिष्टरमा देखिएको बताए ।
यता क्याम्पसका प्रमुख विरेन्द्र यादवले प्राध्यापक बिरामी रहेकाले नियमित रुपमा क्याम्पसमा आएपनि पढाउन नसकेको प्राध्यापकद्वयको बचाउ गर्दै प्रतिक्रिया दिएका छन ।
प्राध्यापकद्वय यादव र अधिकारी एउटा उदाहरण मात्र हुन । सो क्याम्पसका अधिकांश प्राध्यापकहरुले हाजिरी बनाएर थप पैसा कमाउन निजी क्याम्पसमा डियूटी गर्दै आएको छ । केही यस्ता प्राध्यापकहरु पनि छन जसको आफ्नै निजी क्याम्पस संचालनमा रहेका छन ।
क्याम्पस व्यवस्थापन समितिको लापरवाहीका कारण सो क्याम्पस अध्ययन केन्द्र नभई परिक्षा दिएर सर्टिफिकेट लिने माध्यमको रुपमा प्रयोग हुँदै आएको छ । क्लास नहुने गरेको कारण विद्यार्थीहरु पनि नामांकन गराई परीक्षा दिने बेलामा मात्र क्याम्पसमा देखिने गरेको छ ।
६० वर्षको लामो यात्रा पार गरिसकेका राराब क्याम्पस देशभरिकै उत्कृष्ट क वर्ग क्याम्पसको श्रेणीमा पर्ने गथ्र्यो तर अहिले त्यस्ता प्राध्यापकहरुको कारण अहिले ग वर्गमा झरिसकेको छ । नेपालभरिकै विद्यार्थीहरुको लागि अध्ययनको थलोको रुपमा रहेका राराब क्याम्पस अहिले स्थानीय विद्यार्थीको रोजाईबाट पनि वंचित भएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !