लोक समाचारदाता
जनकपुरधाम, माघ २० गते ।
धनुषाको औरही गाउँपालिका २ का २२ वर्षिय चिन्तामणि पासवानको मोबाइल मेमोरी कार्डका लागि हत्या गर्नेहरु पक्राउ परेको छ ।
सोमवार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी चिन्तामणिको हत्या आरोपमा पक्राउ पर्नेहरुमा चिन्तामणिका श्रीमान अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासु कुमला पासवान र ननद पुनिता पासवान रहेको जनाएको छ ।
गत माघ १८ गतेका दिन मोबाइलको मेमोरी विषयमा चिन्तामणिको ननद पुनितासँग विवाद र झै झगडा भएको थियो, सोही विषयलाई लिएर श्रीमान अनिल, ससुरा राधाकृष्ण र सासु कुमलाले निर्ममतापुर्वक कुटपिट गरी बुहारी चिन्तामणिको घाँटी थिचेर हत्या गरेको प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
घटना बारे थप जानकारी दिदै उनले भने चिन्तामणिको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनी हल्ला खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर तिनीहरु फरार भयो । शव शंकास्पद देखिएपछि प्रहरीले खोजतलास गर्दा घटना खुल्न आयो ।
प्रहरी उपरिक्षक बस्नेतले भने घटनाको अनुसन्धान गर्दै जाँदा माघ १९ गतेका दिन जनकपुरधाम ४ स्थित पेठिया बजारबाट ससुरा राधाकृष्ण र श्रीमान अनिललाई जनकनन्दनी गाउँपालिका २ बलहा टोलबाट लुकिरहेको अवस्थामा पक्राउ गरियो । अन्य सासु र ननदलाई घरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु विरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर गरी कारवाही प्रक्रिया अघि बढाइएको जानकारी समेत उनले दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !