लोक समाचारदाता
जनकपुरधाम, माघ १५ गते ।
प्रदेश २ सरकारले सार्वजनिक कार्यालयहरु भाडामा संचालित रहेको अवस्थामा एक निजी कम्पनीलाई व्यवसाय संचालन गर्न निशुल्क जग्गा उपलब्ध गराउने जनाएको छ ।
प्रदेशमा रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले मोरंग अटो वक्र्सद्वारा खोलिएको जेसीबीको इन्जिनीयरिंग वक्र्स एवं प्रशिक्षण केन्द्रलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ ।
मोरंग अटो वक्र्सको वक्र्ससपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका जनतालाई रोजगारी दिने उद्देश्यले प्रदेश सरकारको सहकार्यमा खोलिएको मोरंग अटो वक्र्सले जग्गा उपलब्ध गराउनेदेखि हरसम्भव सहयोग गर्ने भने ।
मुख्मयन्त्री राउतले प्रदेशमा रोजगारको अवसरका लागि विभिन्न प्रशिक्षण केन्द्रहरु खोल्न आफू शुरुदेखि नै प्रयासरत रहेको भने ।
मोरंग अटो वक्र्सद्वारा संचालन गरिएको सो प्रशिक्षण कार्यक्रम प्रदेश २ सरकारको सीप परियोजना कार्यक्रम अन्तर्गतको एक कार्यक्रम रहेको छ । गत साउन ३१ गतेदेखि विभिन्न ६ वटा संस्था मिलेर सीप प्रदेशमा रोजगार प्रवद्र्धनका लागि गठित परियोजना हो । जसको संयोजक मुख्यमन्त्रीका भतिजो साबिर अन्सारी रहेको छ ।
रोजगारी प्रवद्र्धनको नाममा प्रदेश सरकारले करोडौ रुपैया खर्च गरिसकेको छ, तर अहिलेसम्म एकजनाले पनि रोजगार पाएको छैन । सोही अन्तर्गत बिरगंजमा गत भदौ दोश्रो सातामै रोजगारी पसल समेत संचालनमा ल्याइएको छ । सीप परियोजना अन्तर्गत तीन वर्षभित्र ४२ हजार युवालाई रोजगार दिने लक्ष्य लिएको थियो ।
तर ६ महिना बितिसक्दा पनि आजसम्म सो परियोजना अन्तर्गत एकजनालाई पनि रोजगार दिइएको छैन । सम्झौता अनुसार बेरोजगारलाई रोजगार तथा विदेश जाने युवालाई प्रशिक्षित गर्ने लक्ष्य सहितको सम्झौता गरिएको थियो ।
सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भनिएको थियो, तर आजसम्म कार्यान्यन हुन सकेको छैन ।
सो कार्यक्रममा प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !