लोक समाचारदाता
वीरगञ्ज, माघ १४ गते ।
पांच रुपैया तिर्न नसकेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
बारा जिल्लाको पचनौता गाउँपालिका ४ गुलरिया निवासी ६० वर्षिय नागेन्द्र महरालाई अदालतले गरेको ५ रुपैया जरिवाना तिर्न नसकेपछि पक्राउ परेको हो ।
२०६५ साल माघ २७ गतेका दिन महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि अदालतले निज महरालाई रु ५ दण्डजरिवाना गरेको थियो तर महरा फरार भएकाले उनलाई फरार अभियुक्तको सूचीमा राखी प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले बताएका छन ।
अदालतमा कायम रहेका मुद्दा नं १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ ।
प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
पक्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३ सय २३ दिन कैद सजायबापत २२ लाख ७ हजार ८ सय ४४ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य अभियुक्त आफैँ अदालतमा उपस्थित भइरहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !