लोक समाचारदाता
जनकपुरधाम, माघ १२ गते ।
नेपाल स्थित भारतीय दूतावासले ७१ औं गणतन्त्र दिवसका अवसरमा जनकपुरधामका डाक्टर मिथिलेश मेमोरियल क्यानसर फाउनडेशनसहित देशका विभिन्न संघ संस्थालाई ३० वटा एम्बुलेन्स प्रदान गरेको छ ।
नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई भारतीय दूतावासले ती एम्बुलेन्स सहित विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा स्कूल बस समेत सहयोग गरेको छ ।
नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको जनाइएको छ ।
कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरेको हो । सो कार्यक्रममा कार्यबाहक राजदूत अजयले भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका हुन ।
भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ ।
दिवसका अवशरमा इन्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !