लोक समाचारदाता
जनकपुरधाम, माघ ८ गते ।
बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि प्रदेश नं.२ मा सम्पूर्ण तयारी भएको छ ।
संचारकर्मीसँग कुरा गर्दै निर्वाचन अधिकृत राजुकुमार खतिवडाले माघ ९ गते बिहीवार बिहान १० बजेदेखि दिउंसो ४ बजेसम्म हुने भनिएको राष्ट्रिय सभास सदस्यका निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएका छन् ।
उनले भने मतदान अधिकृत तोकेर मतपेटिका, मतपत्र र मतदाता नामावली सहितको सम्पूर्ण सामाग्री जिम्मा लगाइ सकिएको छ । निर्वाचनमा खटिने कर्मचारीको तालीम सम्पन्न भइसकेको तथा निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक तयारी पुरा भइसकेको छ ।
निर्वाचन जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा हुनेछ, सो निर्वाचनका लागि स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्था मिलाइएको छ भने प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत बाहेक ८ जना कर्मचारी खटाइएको छ ।
अधिकृत खतिवडाका अनुसार निर्वाचन सकिएलगत्तै मतगणनाको प्रक्रिया शुरु हुनेछ । शान्तिपुर्ण वातावरणमा स्वच्छ तथा निष्पक्ष रुपमा मतदान सम्पन्न मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिसकिएको छ ।
प्रदेश नंं.२ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । उक्त निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।
प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाता रहेका छन् । सो निर्वाचनमा महिला समूह अन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवान प्रतिष्पर्धामा रहेका छन् । सोही अनुरुप, अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँगे्रसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह रहेका छन् भने अन्य समूहतर्फ समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी प्रतिस्पर्धामा छन ।
यसैबीच निर्वाचनमा सहभागी हुने प्रदेश सभा सदस्य तथा स्थानीय तह सहितका मतदाताहरु जनकपुरधाम पुगिसकेको छ । तिनीहरुलाई पार्टी आ आफ्ना मतदातालाई विभिन्न होटल तथा लजमा ठहरने व्यवस्था मिलाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !