लोक समाचारदाता
जनकपुरधाम, माघ ५ गते ।
जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथिको दुव्र्यवहार एवं कुटपिट घटना बारे नेपाल पत्रकार महासंघ धनुषा अन्तर्गत रहेको संघर्ष समितिले सर्वपक्षीय बैठकमा उपमहानगरपालिका र महासंघबीच भएको ९ बुंदे सहमति कार्यान्वयनको मांग गदैै आन्दोलनको घोषणा गरेको छ ।
आइतबार नेपाल पत्रकार महासंघ सँग आबद्ध पत्रकार एवं विभिन्न संघ संगठनको आइतवार बसेको बैठकबाट संघर्ष समितिले मेयर साहकै प्रत्यक्ष निर्देशनमा भएको कुटपीट घटनामा संलग्न दोषीहरुमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले आइतबार पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।
सो आन्दोलनलाई परिचालन एवं व्यवस्थापन उद्देश्यले पुर्नगठित संघर्ष समितिको संयोजकमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कुमार कर्णलाई चयन गरिएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आगामी माघ ७ गतेदेखि १८ गतेसम्म धनुषाका सम्पूर्ण पत्रकारहरु हातमा कालो पट्टी बाँधेर काम गर्ने, ८ गते महासंघ धनुषा शाखाका पदाधिकारी, पूर्व अध्यक्ष, पार्षद, केन्द्रिय तथा प्रादेशिक महासंघका प्रतिनिधि लगायतसंग घटना बारे छलफल, ११ गते सरोकारबालासंग, १३ गते राजनीतिक दलसंग र माघ १८ गते नागरिक समाज, युवा क्लव एवं विभिन्न संघ संगठन संग छलफल गर्ने कार्यक्रम तय गरेको नेपाल पत्रकार महासंघ धनुषाले जनाएको छ ।
गएको पुस २२ गते जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी अतिक्रमण विषयमा समाचारका लागि मेयर लालकिशोर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि उनकै कार्यकक्षमा दुव्र्यवहार तथा कुटपिट गरिएको थियो ।
घटना पश्चात नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा गएको पुस २३ गते जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत घटनामा संलग्न दोषीहरुलाई कारबाही गर्न सरकारलाई ५ दिने अल्टिमेटम दिइयो, तर सम्बन्धित निकाले कुनै चासो लिएन ।
पत्रकारहरुले दिएको अल्टिमेटम अवधि समाप्त भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले समन्वयका लागि बोलाएको विभिन्न राजनीतिक दलको रोहबरमा सर्वपक्षीय बैठक मार्फत घटनामा दोषी सहितका व्यक्तिलाई कानून बमोजिम कारवाही गर्ने सहितका ९ बुँदे सहमति गरियो । तर सहमतिको एक साता बितिसक्दा पनि सम्बन्धित निकायले सहमति कार्यान्वयन गराउन नसकेपछि पत्रकारहरु आन्दोलनमा जान बाध्य भएका हुन ।
घटना बारे नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, समाजवादी पार्टी लगायत विभिन्न दलका भातृसंगठन र पत्रकारहरुको संगठनले विज्ञप्ती जारी गरी घटनामा संलग्नलाई यथासिघ्र कारबाही गर्न माग गरिसकेपनि कुनै पहल गरिएको छैन ।
सो घटनामा कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, उज्यालो नेटवर्कका पत्रकार सुभाष कर्ण, देश संचारका पत्रकार राजा झा, एबीसी टिभीका पत्रकार सुमित मिश्र सहितका पत्रकार घाइते भएको थियो भने पत्रकार मिश्रको क्यामेरा र मोबाइल समेत खोसिएको थियो ।
घटनालाई मोड्न जनकपुरधाम उपमानगरपालिकाले उल्टै पत्रकारहरुले चारजना महिलामाथि कुटपिट गरेको सुनियोजित आरोप लगाउँदै आन्दोलन सुरु गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !