लोक समाचारदाता
जनकपुरधाम, माघ ४ गते ।
हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले योग्यता अनुसार स्वास्थ्य चौकीहरुमा समायोजन सहितको पदस्थापन नगरिए आन्दोलनमा जाने चेतावनी दिएका छन ।
जनकपुरधाममा हानको सम्पन्न प्रादेशिक भेलामा सहभागी हेल्थ असिस्टेन्टहरुले प्रदेश २ स्थित स्थानीय तहको स्वास्थ्य चौकीहरुमा चौथो तह भएका अ.हे.व प्रमुख बनाई पाँचौ तहका हेल्थ असिस्टेन्टलाई त्यसको तल्लो स्तरको कर्मचारीको समायोजन गरिएको आरोप लगाउंदै तहगत योग्यता अनुसार पदस्थापन नगरिए आन्दोलनमा जाने चेतावनी दिए ।
उनीहरुले भने कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ अनुसार कार्यरत जेष्ठताको आधारमा समायोजन गरिसकिएको छ । तर सो ऐन विपरित स्वास्थ्य सेवालाई धारासायी बनाउने उद्देश्यले स्तरवृद्धिको आधारमा स्वास्थ्य चौकीहरुमा कनिष्ट योग्यता भएका अहेवलाई प्रमुख बनाई पदस्थापन गरेकोले योग्यताको आधारमा जेष्ठ कर्मचारी हुन गएको छ ।
हानका प्रदेश संयोजक रविन्द्रकुमार साहले संघीय मामिला प्रशासन मन्त्रालय र स्वास्थ्य जनसंख्या मन्त्रालयले ऐन बमोजिम समायोजित सहायक चौथोको ४, ५, ६ र पांचौ तहको ५, ६, ७ गरी चरणमा सूची प्रकाशित गरेको छ । सूची प्रकाशित गर्दा पनि पदगत जेष्ठताको आधारमा समोजित हेल्थ असिस्टेन्ट कर्मचारीलाई न्यायोजित जिम्मेवारी नदिई जिम्मेवारी विहिन बनाएको आरोप लगाए ।
उनले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरु स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरु मध्ये स्वास्थ्य चौकीमा मात्र तहगत दरबन्दी तेरिज लागू गरेको र प्रा.स्वा.के. अस्पतालहरुमा ऐन विपरित पदगत दरबन्दी तेरिज लागू गरेको हुँदा वास्थ्य चौकीहरुमा समेत पदगत दरबन्दी तेरिज लागू हुनुपर्नेछ यदि नभए हामी आन्दोलनमा जान बाध्य हुनेछौ भने ।
सो कार्यक्रममा हानसँग आबद्ध प्रदेशका ८ वटै जिल्लाका पदाधिकारी तथा हेल्थ असिस्टेन्टहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !