लोक समाचारदाता
जनकपुरधाम, पुस २६ गते ।
अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने दिलिपकुमार महतोको हत्या आरोपमा पक्राउ परेका ४ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा चुरियामाई बालुवा गिट्टी प्रसोधन केन्द्रका संचालक स्थानीय विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिपर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शनिवार राति साढे ८ बजे एक पत्रकार सम्मेलन आयोजना गरी हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेका हुन ।
घटना बारे जानकारी दिदै प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले भने शुक्रवार बिहान करीब ४ बजेतिर बालुवा उत्खन्न भइरहेको भनी अभियन्ता दिलिपलाई उनको साथी रोशन मार्फत औरही खोलामा सुनियोजित रुपमा बोलाई कुटपिट गरी हत्या गरेर, घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिपरबाट किचेको थियो ।
अवैध बालुवा गिट्टी उत्खन्न गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर संचालक विपिनलाई करोबार गर्न समस्या भइरहेको हुँदा रोशनलाई प्रयोग गरेर निज दिलिपलाई मार्फत बिहानै ४ बजे खोलामा बालुवा गिट्टी उत्खन्न भइरहेको भन्न लगाएर खोलामै आरोपितहरुले पहिला कुटपिट गरी सिकस्त बनाएर फलामको लिभरले दाहिने कोखामा घोचि योजना तहत हत्या गरी घटनालाई दुर्घटनाको रुप दिन टिपर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको उनले जनाए ।
घटना पश्चात स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेको थियो । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।
यता बिना मुचुल्काको प्रहरीले शव उठाएको भन्दै आक्रोशित रहेका स्थानीय र आफन्तलाई आरोपितहरु पक्राउ परिसकेको र तिनीहरुलाई कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्धता पश्चात पिडीतहरुको जाहेरी पछि शवको पोष्टमार्टम शनिवार बेलुकातिर भएको छ । पोष्टमार्टमपछि पिडीत परिवारले शव बुझि सकेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी समेत दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !