लोक समाचारदाता
जनकपुरधाम, पुस २५ गते ।
पत्रकारलाई घटना प्रकरण बारे दोषी मेयरलाई कारवाहीको मांग गर्दै जनकपुरधामका विभिन्न अधिकारवादी संघ संस्थाहरुले संयुक्त रुपमा ज्ञापन बुझाएका छन ।
शुक्रवार विभिन्न संघ संस्थाहरुसंग आबद्ध युवाहरुले जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमण सम्बन्धमा समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकाहरुलाई पुस २२ गतेका दिन नियोजित रुपमा कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिकका मेयर लालकिशोर साहलाई कारवाहीको मांग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई बुझाएको ज्ञापनपत्रमा दोषी मेयर साहलाई कारवाही सहित विभिन्न ६ बुंदे मांग अघि सारिएको छ ।
ती युवाहरुले उपमहानगरपालिकामा सूचना अधिकारीको व्यवस्था, हालसम्म नियुक्त भएका कर्मचारीको भर्ना प्रक्रिया र संख्या सार्वजनिक, पालिकाका २५ वटा वडामा गरिएको विकास निर्माणको योजना र उपभोक्ता समिति नामावली पारदर्शी, सहज रुपमा सूचना पाउनुपर्ने व्यवस्था, जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको छानबीन गरी सत्य तथ्य कुरा सार्वजनिक गर्नुपर्ने मांग समेत गरेको छ ।
ज्ञापन बुझाउनेहरुले मांग यथाशिघ्र पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिएका छन् र आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सरोकारवाला निकाय हुने जनाएको छ ।
ज्ञापनपत्र बुझाउनेहरुमा मधेश अधिकार संघर्ष समिति, भ्रष्टाचार विरुद्धको अभियान, परिवर्तनका लागि युवा अभियान, अंगराजसर संरक्षण समिति, युथ एशोसिएन अफ नेपाल, जानकी चौक युवा समूह र जनकपुर नागरिक समाज सहितका संघ संस्थाका युवाहरु रहेका छन ।
ज्ञापन पत्रमा बोद्यार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालय, भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय, पुरातत्व विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधाम उपमहानगरपालिका, राजपा नेपाल, समाजवादी पार्टी, नेपाल कांग्रेस र नेकपालाई जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !