लोक समाचारदाता
जनकपुरधाम, पुस २४ गते ।
यूथ एशोसिएसन अफ नेपालले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा पत्रकारहरुलाई गरिएको कुटपिट घटना विरुद्ध विरोध प्रदर्शन गरेका छन ।
यूथका दर्जनौ युवाहरुले सूचनाको हक कार्यान्वयन गर, प्रेस स्वतन्त्रतामाथि हनन र सूचनाको संवाहक पत्रकार कुटने मेयरलाई कारवाही गर लगायतका नारा लगाउंदै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रेका युवाहरुले हामी पत्रकारको समर्थक होइन तर अन्यायलाई सहदैनौ, पत्रकारमाथि हातपात गर्न पाइदैन, नगर प्रमुख हो कि नगरको माफिया, उपमहानगरपालिकामा गुण्डा राख्या छौ कि कार्यकर्ता लगायतका नारा सहितको प्लेकार्ड प्रदर्शन गरेका छन ।
संचारकर्मीहरुसंग कुरा गर्दै युथका आदित्य नेपालले भन्नु भयो जानकी मन्दिर फुलबारी जग्गाको सम्बन्धमा प्रतिक्रिया लिने जाने पत्रकारलाई घण्टौ कुराउने अनि त्यसपछि आफ्ना कार्यकर्ता र गुण्डा लगाएर कुटपिट गर्नुले प्रष्ट हुन्छ कि मेयर साह आफ्ना भ्रष्टाचार लुकाउन मिडिया समक्ष प्रस्तुत हुन चाहिरहेको छैन ।
उनले थप्दै भने सूचना मांग्ने पत्रकारहरुमाथि पदको दुरुपयोग गर्ने मेयरले गल्ती स्वीकार गरी माफी न मांगेसम्म हाम्रो आन्दोलन जारी नै रहनेछ । गलतको लागि हामी पछि पर्दनौ जुन सकै आन्दोलन गर्न तयार छौ चेतावनी समेत दिनु भयो ।
त्यस्तै युथका अर्का युवा सर्वजित यादवले भन्नु भयो भ्रष्टाचारलाई पर्दाफांस गर्ने देशकै चौथो सूचनाको मूल संवाहक पत्रकार हुन र तिनीहरु नै जनप्रतिनिधिबाट कुटिनुको अर्थ यहाँका जनता र सेवाग्राही सुरक्षित छैन, यसप्रति सम्बन्धित निकायले ध्यान दिनै पर्छ, दोषी मेयरमाथि कारवाही हुनै पर्छ यदि भएन भने हाम्रो आन्दोलन जारी रहनेछ ।
पुस २२ गते मंगलवारका दिन जानकी मन्दिर फुलबारीको जग्गा उपमहानगरपालिकाद्वारा अतिक्रमण भएको लागेको आरोप बारे प्रतिक्रिया लिन गएका पत्रकारहरुलाई घण्टौ कुराएर, आफ्नो कार्यकक्षमा बोलाई नगर प्रहरी र कार्यकर्ता लगाई कुटपिट गराएका थिए । सो घटनामा ४ चार जना पत्रकार घाइते भएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !