लोक समाचारदाता
जनकपुरधाम, पुस २४ गते ।
गत पुस २२ का दिन समाचार संकलनमा गएका पत्रकारलाई कुटपिट गराउने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सेवाग्राहीलाई समेत आफ्नो कार्यकक्षमै कुटाएको अर्को घटनाको रहस्य खुलेको छ ।
लोक समाचारदाताले फेला पारेको प्रमाण अनुसार विकास निर्माण सम्बन्धी योजनाको सूचना मांग्न गएका वडा नं. १८ का स्थानीय रामबाबु मण्डललाई वडाध्यक्ष रामाशंकर मार्फत मेयरसाहले कुटाएको छ ।
वडाध्यक्षले गरेको सडकको काम सम्बन्धी तपेश्वर ठाकुर बरही र रामबाबु मण्डलले संयुक्त रुपमै सुचनाको हक प्रयोग गर्दै योजना बारे जनकपुरधाम उपमहानगरपालिका सँग भदौ १७ गतेकै मांग गरेको थियो । एक महिनासम्म तोकता गर्दा पनि मण्डलले सूचना त पाएन, तर असोज १६ गतेका दिन गुनासो लिएर मेयर साहले कार्यकक्षमा पुग्दा किन चाहियो सूचना, हामी दिदैनौ हप्काए ।
पिडीतले सूचना लिने हाम्रो संवैधानिक अधिकार हो र तपाईलाई दिने दायित्व लगायतका अनुरोध गरिरहकै क्रममा वडाध्यक्षले जाइलाग्दै रामबाबुलाई मेयरको कार्यकक्षमै उनकै अगाडि कुटपिट गरेका थिए ।
सो घटना बारे पिडीतले असोज १६ गतेका दिन जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी समेत दर्ता गराए । यसका साथै जिल्ला प्रशासन कार्यालयमा घटना बारे जानकारी गराउंदै राष्ट्रिय सूचना आयोगमा सूचना मांग्दा कुटपिट भएको जानकारी सहित उजुरी दर्ता गराए । सो उजुरीकै आधारमा वडा अध्यक्षलाई आवश्यक कारवाही गर्न आयोगले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरे ।
आयोगको पत्राचारपछि कात्तिक १८ गतेका दिन जिल्ला प्रशासन कार्यालयले २२ गतेका दिन छलफलका लागि बोलायो, जिप्रकाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रको रोहबरमा भएको छलफलमा उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले ७ दिन भित्रै सूचना उपलब्ध गराउने प्रतिबद्धता सहितको कागज गरियो, तरपनि पिडीतले सूचना पाएन ।
उपमहानगरपालिकाले आफ्नो प्रतिबद्धता अनुसार पिडीतलाई सूचना उपलब्ध गराएपछि जिप्रकाले मंसिर १६ गतेका दिन पिडीतलाई सूचना किन उपलब्ध गराइएन, ७ दिनभित्र सूचना उपलब्ध गराई त्यसको जानकारी जिप्रकामा पठाउने सहितको ताकेता पत्र पठायो । ताकेता पत्रको करीब दुई महिना बितिसक्दा उपमहानगरपालिकाले कुनै टेरपुच्छर नगरी बेवास्ता गर्दै आएको छ ।
सूचना आयोगले आफ्नो पत्रमा स्पष्ट रुपमै सूचना मांग्नेलाई नागरिकलाई कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही र सहज रुपमा सूचना उपलब्ध गराउन निर्देशन दिएको थियो । तर प्रजिअ प्रदीपराज कणेलले न त ती वडाध्यक्षलाई कारवाही गरे, न त सूचना नै उपलब्ध गराउन सके ।
लोकपुकार सँग कुरा गर्दै पिडीत रामबाबु मण्डलले भने सूचना मांग्ने नागरिकको संवैधानिक अधिकार हो, तर मांग्दा कुटाई खानुपर्ने घटना देशकै लागि दुर्भाग्य हो । दोषीमाथि हालसम्म सम्बन्धित निकायले कारवाही गर्न नसक्नु भने तिनीहरु उपमहानगरपालिका पदाधिकारी निरिह भएको देखिन्छ, यस्तै अवस्था विद्यमान रहयो भने कुनैपनि नगरवासी सुरक्षित रहन सक्दैन । साथै उनले आफू न्याय नपाएसम्म संघर्ष जारी राख्ने समेत जनाएका छन् ।
उपमहानगरपालिका अगाडि जिल्ला प्रशासन कार्यालय मात्र होइन जिल्ला प्रहरी कार्यालय समेत निरिह भएको छ । सूचना मांग्नेलाई यसरी नै कुटपिटको घटना हुंदै रहयो भने नगरवासी कसरी सुरक्षित रहलान कानून कार्यान्वयनकर्ता निकायहरुमाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
वडाध्यक्षमाथि सोही बेला कारवाही भइ दिएको भए पुस २२ गतेका दिन पत्रकारलाई कुटिनुपर्ने घटना दोहरिने थिएन । सम्बन्धित निकायकै बेवास्ताका कारण जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारी अधिकार खोज्दा कुटने प्रवृतिको मनोबल बढेको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !