लोक समाचारदाता
जनकपुरधाम, पुस २३ गते ।
समाचार संकलनमा गएका पत्रकारलाई गुण्डा लगाएर कुटने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहित घटनामा संलग्न दोषीहरुलाई कारवाही नभए आन्दोलनमा जाने चेतावनी नेपाल पत्रकार महासंघ धनुषाले दिएको छ ।
महासंघका अध्यक्ष अनिल मिश्रको नेतृत्वमा सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यालय पुगि पाँचदिने अल्टिमेटम सहितको ज्ञापनपत्र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई बुझाउंदै यस्तो चेतावनी दिएका हुन ।
पत्रकारहरुलाई कुटपिट गर्ने, हुलहुज्जत र सञ्चार सामग्री लुट्ने, घाइते पत्रकारहरुको उपचार खर्च र खोसिएका एवं क्षति भएका संचार सामाग्रीको क्षतिपूति सहित जानकी मन्दिरको फुलवारी अतिक्रण घटनाको छानबीन गरी दोषीहरुमाथि कारवाहीको मांग ज्ञापन मार्फत महासंघले गरेका हुन ।
उपमहानगरपालिकाको कार्यालयमा रहेको सिसीटिभी र पत्रकारहरुसंग सुरक्षित रहेको भिडियोबाट दोषीहरुको पहिचान गरी तत्कालै पक्राउ गरी कारवाहीका साथै प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने लगायतको ४ सुत्रिय माग समेत महासंघले गरेको छ ।
मंगलबार जानकी मन्दिर फुलबारी जग्गाको अतिक्रमण बारे समाचार संकलन गर्न गएका पत्रकार र घटना बारे समन्यका लागि पुगेका पत्रकाहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले आफ्नो कार्यकक्षमै बोलाएर कथित नगर प्रहरी र आफ्ना कार्यकर्तालाई प्रत्यक्ष निर्देशनमा पत्रकारहरुले मिडिया आतंक फैलाएको भनी कुटपिट गराएको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो घटनामा कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर, उज्यालोकर्मी सुभाष कर्ण, एबीसी टीभीका सुमित मिश्रा र देश संचारका राजा झा लगायतका पत्रकारहरु कुटपिटबाट घाइते भएका थिए ।
सो ज्ञापनपत्रको बोद्यार्र्थ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्यमन्त्री कार्यालय, भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालय, नेपाल पत्रकार महासंघ, नेकपा, राजपा, समाजवादी पार्टी, राजपा नेपाल लगायतका पार्टी कार्यालयहरुलाई जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !