लोक समाचारदाता
जनकपुरधाम, पुस २० गते ।
गुठी संस्थान जनकपुरका तात्कालिन प्रमुख राजबाबु पाण्डे र मनोज शर्मा सहित राजपा नेता सुमनकान्त ठाकुर विरुद्ध पनि अख्तियारले ६३ लाख रुपैयाभन्दा बढीको मांगदाबी गर्दै आरोप सहित मुद्दा दायर गरेको छ ।
आइतवार विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा सुमनकान्त ठाकुर भनिने व्यक्तिले पटक/पटक गरी कूल ६३ लाख ३६ हजार ६ सय ६७ रुपैया मुआब्जा भुक्तानी गराउन मोहीसँग कर्मचारीलाई प्रभावमा पार्न घुसको रुपमा लिएका र दिलाएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धन आयोगले गरेको छ ।
किर्ते मोही भनिएका गायत्री देवी जयसवालसँग बिचौलियाको भूमिका निर्वाह गर्दै ठाकुरले कर्मचारीलाई घुस दिने नाममा ५६ लाख १ हजार ६ सय ६७ र उनका छोरा शत्रुध्न जयसवालसँग ७ लाख ३५ हजार रुपैया असुल गरेको पुष्टि गर्दै अख्तियारले ती रकम बराबरको बिगो समेत कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुल उपर जफत हुने सहितको मांगदाबी र उपदफा (२) को सजायको मांग गरेको छ ।
त्यस्तै गायत्री देवी जयसवाल र उनका छोरा शत्रुधन जयसवाल विरुद्ध पनि किर्ते मोही बनेर अवैध रुपमा गुठीसँग मुआब्जा वापतको रकम लिएको भनी सो रकम असुल उपर र सजायको मांग गर्दै आरोपपत्र अख्तियारले दायर गरेको छ ।
सो आरोप पत्रमा गुठी संस्थान शाखा कार्यालय जनकपुरबाट मुआब्जा बापत २०६९ साल असार २७ गतेका दिन मुआब्जा वापत पाएको १२ लाख ५० हजार रुपैया मध्येबाट सोही मितिमा बिचौलिया सुमनकान्त ठाकुरलाई कर्मचारीलाई मिलाउन घुस वापत ७ लाख ३५ हजार रुपैया दिएको अनुसन्धानमा पुष्टि हुन आएको अख्तियारको भनाई छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निजसँग बिगो रु.७ लाख ३५ हजार कायम गरी असुल गरी जफत हुने र सजायको मांग समेत भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मांग गरेको छ ।
त्यस्तै गायत्री देवी जयसवालले गुठी संस्थान जनकपुरबाट २०६९ साल जेठ १६ गते पाएको मुआब्जा रकम ७७ लाख १ हजार ६ सय ६७ रुपैया पाउन बिचौलिया ठाकुरलाई कर्मचारी मिलाउन घुर रकम वापत सो रकम मध्येबाट ५६ लाख १ हजार ६ सय ६७ रुपैया घुस दिएको ठहर गर्दै निज विरुद्ध पनि सो रकम बराबरको बिगो सहित मांगदाबी गर्दै आरोप पत्र दायर गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !