लोक समाचारदाता
जनकपुरधाम, पुस २० गते ।
कानूनहरु परिवर्तन गर्दै आइरहेकोमा क्रममा नेपाल सरकारले चप्पल लगाएर सार्वजनिक सवारी साधन चलाएमा १५ सय रुपैया जरिवाना लाग्ने सहितको कानून ल्याएको छ ।
चप्पल लगाएकै कारण सार्वजनिक सवारी साधन दुर्घटनामा वृद्धि भइरहेको भन्दै यातायात व्यवस्था विभागले चालकहरुलाई जुत्ता अनिवार्य गर्ने व्यवस्था ल्याएको हो । विभागका प्रवक्ता तिर्थराज खनाल यस्तो व्यवस्थाले दुर्घटना न्यूनीकरण हुने दाबी गरेका छन ।
विभागले यसका लागि यातायात व्यवसायीसँग छलफल गरेर सम्बन्धित कार्यालयहरु र ट्राफिक प्रहरीलाई समेत चिट्ठी पठाएको थियो भने गत बुधवार सूचना प्रकशन गरेर नियम लागू भएको जानकारी दिएको थियो । नियम पालना नगर्ने सवारी चालकलाई नियमानुसार कारवाही गर्नेछ र ५ सय देखि १५ सय रुपैयासम्म जरिवाना सम्बन्धित चालकलाई तिर्नुपर्नेछ ।
गेयर, क्लच र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएकोले यस्ता दुर्घटना कम गर्नका लागि यो नियम ल्याएको खनालको भनाई छ ।
त्यति मात्र होइन दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिमका स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्डाउन र गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भएमा त्यसलाई हटाउन समेत विभागले ट्राफिकलाई निर्देशन दिएको छ ।
यस्ता नौलो नियम पालना गराउन एक हप्तासम्म सम्पूर्ण चालकहरुलाई यसबारे चेतना दिइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अनिवार्य जुत्ता लगाउनुपर्ने व्यवस्थाबारे प्रचार गरिरहेको महाशााखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !