लोक समाचारदाता
जनकपुरधाम, पुस १९ गते ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको उम्मेदवारको नाम टुंग्याएको छ ।
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तालमेलको सहमति अनुसार राजपाले आफ्ना पार्टीका दुई उपाध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार राजपा नेपाल अध्यक्ष मण्डलको बसेको बैठकबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्रसिंह यादव र शेखर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको कुरा कार्यालय सचिव रञ्जित झाले जानकारी दिएका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले यसअघि नै उम्मेदवार तोकिसकेको छ । अन्य दलले पनि उम्मेदवार तोक्ने तयारीमा छन् । पुस ३ गते भएको सहमति अनुसार राजपाले अन्य पुरुष समूह र अपांगता भएका वा अल्पसंख्यक कोटा पाएको छ भने नेकपाले एक/एक दलित र महिला कोटा पाएको हो ।
त्यही अनुरुप राजपाले आफ्नो उम्मेदवार तोकेको हो । नेकपाले पाएको कोटामा महिलातर्फबाट तुलसा दाहाल र दलित/जनजातिबाट नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !