लोक समाचारदाता
जनकपुरधाम,पुस १८ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका मुख्य योजनाकार भनिएका विप्लव समूहका नेता पक्राउ परेको छ ।
घटनाको करीब २२ दिनपछि प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेको मुख्य योजनाकार आदम राइनलाई धनुषा प्रहरीले पक्राउ गरेका हुन । राईन पक्राउ घटनाको प्रहरीले अधिकारिक पुष्टि नगरेपनि प्रहरी श्रोतका अनुसार उनलाई बुधवार १६ गते नै पक्राउ गरिएको हो ।
स्थानीय औषधि व्यवसायी राजेश भन्ने राजेश्वर साह घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित घरधनी साह र उनका छोरा आनन्द साह को मृत्यु भएको थियो भने प्रहरी जवान सहित ३ गम्भीर घाइते भएको थियो ।
यसअघि सो आरोपमा संलग्न विप्लव समूहकै ५ जनालाई पक्राउ गरी कर्तव्य ज्यान एवं विस्फोट मुद्दा दायर गरी कारवाही प्रक्रिया अघि बढाइ सकिएको छ । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी स्रोतको दाबी रहेको छ ।
स्थानीय स्तरमा ऋण लगानीको समेत काम गर्दै आएका राजेश्वर सँग पटक पटक चन्दा मांग गर्दै वार्न समेत ती समूहले गरेको थियो अन्त्यमा गत मंसिर २७ गते राति टाइम बम विस्फोट गराइएको जसमा प्रहरी निरिक्षक दाहालको मृत्यु हुन गएको धनुषा प्रहरीको भनाई छ ।
सो घटनामा मुख्य योजनाकारसहित ९ जनाको पहिचान गरिएको थियो जसमध्ये मुख्य योजनाकार सहित संलग्न अन्य ६ जना पक्राउ परिसकेको बांकी अन्य आरोपीहरुको पनि खोजीकार्य अझै जारी रहेकोे प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !