लोक समाचारदाता
जनकपुरधाम, पुस १७ गते ।
घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक (असई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
सर्लाहीको त्रिभुवननगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक सिंह र जवान यादवले भारतीय सीमा बजारबाट घरायसी सामान खरिद गरी ल्याउँदा वातावरण सहज गरिदिने भन्दै स्थानीयसँग ५० हजार रुपैया घुस लिएको आरोपमा पक्राउ परेको थियो ।
घरासयी सामान ल्याउने क्रममा घुस नदिए लागूऔषध मुद्दा चलाउने धम्की दिँदै सेवाग्राहीलाई कुटपिट समेत गरेको भन्ने सूचनाको आधारमा बर्दिवासबाट खटिएको अख्तियार टोलीले टोलीले सिंह र यादवलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा सिंह र यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको तथ्य प्रमाण फेला परेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन माग दाबीसहित तिनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !