लोक समाचारदाता
लहान, पुस १६ गते ।
तराई मधेशमा व्याप्त रहेको दाइजो प्रथा उन्मूलनको नाममा दोकान खोलेर विभिन्न गैर सरकारी संघ संगठनहरुले करोडौको कारोबार गर्दै आएको छ ।
तर दाइजो प्रथा निर्मूल त के न्यूनीकरण पनि हुन सकेको छैन । दाइजो प्रथाले लिएको विकराल रुपले बढदै गएको घरेलु हिंसाले ती संघ संगठनहरुको कारोबार झनै बढाउंदै गएको देखिन्छ ।
यसैक्रममा सिरहा लहानमा एक प्रहरी जवानले थप दाइजोको मांग गर्दैै आफ्नो श्रीमतिलाई विष खुवाएर हत्या गरेको रहस्य खुलेको छ ।
सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी जवान सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न. १ तिलाठी निवासी विपिन कुमार झाले नै दहेज कम भएको भन्दै आफनै श्रीमति ज्योति झालाई विष खुवाएर हत्या गरेको आरोप लगाइएको छ ।
विपिन सँग भारतीय निवासी ज्योतिको सन २०११ मा सामाजिक रितिरिवाज अनुसार विवाह भएको भएको थियो । विवाह पश्चात पटक पटक दहेज कम भएको भन्दै मानसिक तथा शारिरिक यातना समेत दिदै आएको पिडितका परिवारजनको आरोप रहेको छ ।
सिरहाको लहान नगरपालिका वडा न. ८ स्थित घुरन मण्डलको घरमा डेरा लिई बस्दै आएको अवस्थामा यही पुस ७ गते बेलुकी साढे ७ बजे विष खुवाएर हत्या गरेको मृतक ज्योतिका माइती पक्षका संजय कुमार झाले संचारकर्मीसँग कुरा गर्दै जनाएको छ ।
विवाह पश्चात ज्योतिलाई विभिन्न बहानामा थप दाईजो ल्याउनुपर्छन भनि पटक पटक झै झगडा गर्नुका साथै रक्सी खाएर कुटपिट समेत गर्दै आएको थियो । पिडित परिवारले घटनाको बारेमा प्रहरीमा लिखित उजुरी दिदा पनि प्रहरीले उजुरी समेत दर्ता नगरेको तथा उल्टै प्रहरीले आफू पिडित पक्षलाई नै हप्काएको दुखेसो पोखेका छन् ।
यता घटना भएको एक सात्ता बित्तिसक्दा पनि अहिलेसम्म पोष्टमार्टमको रिपोर्ट नआएको भनी घटनालाई दुर्घटना बनाउँने कार्यमा पिडकहरु सक्रिय रहेको पिडितको आरोप रहेको छ । पिडित आफन्तजनले सो घटनाको आवश्यक छानविन गरी दोषीमाथि आवश्यक कानुनी कार्बाहीका लागि पहल गरिदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !