लोक समाचारदाता
जनकपुरधाम, पुस १५ गते ।
राष्ट्रिय सभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश २ मा मंगलवार निर्वाचन अधिकृतको कार्यलय उद्घाटन गरिएको छ ।
सो कार्यालयको उद्घाटन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको प्रमुख आतिथ्य र, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश बस्नेत, सशस्त्रका प्रमुख राजेश उप्रेती जिल्ला निर्वाचन प्रमुख पुष्पा झा र राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा उपस्थितिमा गरिएको हो ।
निर्वाचनका लागि जिल्ला अदालतका न्यायधिश राजुकुमार खतिवडालाई निर्वाचन अधिकृत तोकिएको छ भने कार्यालय जिल्ला निर्वाचन कार्यालय धुनषाकै कार्यालयमा राखिएको छ ।
प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ७ र स्थानीय जनप्रतिनिधि प्रमुख तथा उपप्रमुख सहितको २ सय ७२ गरी कूल ३ सय ७९ मतदाता रहेका छन् । चुनावी प्रक्रिया अनुसार स्थानीय जनप्रतिनिधिको १८ र प्रदेश सभा सदस्यको ४८ गरी कूल १० हजार ३२ मतभार रहेको कुरा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
निर्वाचनका लागि उम्मेदवारको मनोयन दर्तादेखि अन्य कार्यहरु तोकिएकै कार्यालयमा हुनेछ भने मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति संग्राहालय तोकिएको कुरा प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन र सो उपर दाबी विरोधको उजुरी दिने, १८ गते दाबी विरोधको उजुरीमा छानबीन गरी अन्तिम नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोयनपत्र दर्ता र सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने २२ गते उजरीमा छानबीन गरी निर्णय गर्ने र २३ मनोयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान तथा माघ ९ गते १० बजेदेखि मतदानको कार्यक्रम राखिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !