लोक समाचारदाता
काठमाडौ, पुस १३ गते ।
‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानका लागि केन्द्रीय तथ्याङ्क विभागले करीब साढे ९७ हजार जनशक्ति र गणक परिचालन गर्ने भएको छ ।
जनगणनाको तयारी र अगामी योजना विषयमा आज आयोजित कार्यक्रममा विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा ५४ हजार ४१३ जनशक्ति र ४३ हजार २७७ गणक परिचालन गरिने जानकारी दिएका छन् । विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने जनाएको छ ।
उनले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्यांक संकलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताए । ‘राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्यांक हो’, भन्दै उनले ‘यही वास्तविक तथ्यांकलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाइने बताए ।
विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तयगरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !