लोक समाचारदाता
जनकपुरधाम, पुस १२ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संघीयता खतरामा रहेको भन्दै कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन निर्देशन दिएका छन् ।
धनुषाको सबैलामा नेपाली कांग्रेसका नेता बलराम नायकको शनिवार आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथि सभापति देउवाले कम्युनिष्ट सरकारको क्रियाकलापले लोकतन्त्र र संघीयतामाथि खतरा बढदै गएकोले पार्टी एकजुट हुनैपर्छ र त्यसका आन्तरिक मनमुटाव त्यागेर आ आफ्ना स्तरबाट अघि बढनुपर्ने भने ।
उनले भने केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले कानूनहरु संशोधनको नाममा संघीयता मास्ने गरी प्रजातन्त्रमाथि आक्रमण गर्दै आइरहेको छ, यसले लोकतन्त्र मात्र होइन हजारौ जनताको बलिदानीबाट प्राप्त संघीयता समेत समाप्त हुने खतरा बढदै गएकोले पार्टी एकजुट हुनुको विकल्प रहेको छैन ।
सभापति देउवाले कम्युनिस्ट सरकारले आयोग गठनमा एकलौटी गर्दै आएको आरोप लगाउंदै ओली नेतृत्वको सरकारले शाही आयोग बनाउन खोजिरहेको छ, त्यसलाई रोक्ने दायित्व हाम्रो काँधमा आएकोले यस विरुद्ध लाग्नुपर्ने भने ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए ।
उनले भने सरकार सबै अधिकार सिंहदरबारमा राखेर आम नागरिकको लोकतान्त्रिक अधिकार खोसेर सर्वसत्तावाद लाद्न खोजिरहेको छ,, मधेशी जनतालाई सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर अगाडि बढे मात्रै लोकतन्त्र र संघीयतालाई जोगाउन सकिने बताए ।
सो श्रद्धाञ्जली सभामा नेपाली पुर्वमन्त्री महेन्द्र यादव, रामकृष्ण यादव र कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मंसुर, लगयातका नेताहरुले पनि सम्बोधन गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !