लोक समाचारदाता
राजविराज, पुस १० गते ।
सप्तरीको राजगढ गाउँपालिकामा वडाध्यक्षहरुले विकासको काममा काखापाखा गरिएको भन्दै तालाबन्दी गरेको छ ।
राजगढ गाउँपालिकाका वडा नं. २, ४ र ६ का वडाध्यक्ष ललितनारायण सिंह, हेमनारायण साह र कमलदेव यादवको नेतृत्वमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
विकास निर्माणका काममा राजनीतिक आस्थाका आधारमा काखापाखा गरेकाले तालाबन्दी गरिएको वडा नं. २ का अध्यक्ष ललितनारायण सिंहले बताएका छन् । गाउँपालिका अध्यक्ष परमानन्द यादव कांग्रेस पार्टीका हुन भने सिंह समाजवादी पार्टी, ४ का साह नेकपा र ६ का वडाध्यक्ष राजपाबाट निर्वाचित भएका हुन ।
पार्टीगत पूर्वाग्रह राखेर काम भएपछि बोर्ड बैठकमा आवाज उठाउनुका साथै लिखित रूपमा आग्रह गर्दासमेत अटेर गरेपछि तालाबन्दी गर्न बाध्य हुनुपरेको सिंहले भने । त्यस्तै वडा नं. ४ का अध्यक्ष साहले कानुनविपरीत भएका काम सुधार लगायत विषयमा १४ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएकोमा हालसम्म कुनै चासो नलिएको कारण बाध्य भए तालाबन्दी गरेको बताए ।
कार्यपालिका बैठकमा प्रत्येक वडाअध्यक्षलाई फरक व्यवहार गरेको, कार्यपालिका बैठकको जानकारी समेत समयमा नदिएको उनीहरूले आरोप लगाएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !