लोक समाचारदाता
जनकपुरधाम, पुस ९ गते ।
धनुषाको मिथिला नगरपालिकामा घरायसी विवादका कारण एक जेठाजुले आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
वैदेशिक रोजगारमा रहेका भाई मिश्रि पजियारका ३८ वर्षिय श्रीमति रानी देवी पजियारको जेठाजु श्रीप्रसाद पजियारले बुधवार दिउंसो मिथिला नगरपालिका ९ बडहरीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन ।
जनकपुरधाम उपमहानगरपालिका वडा २१ कुर्था निवासी श्रीप्रसाद साहले बहिनीको घर बडहरी गएकी रानीलाई खुकुरी प्रहार गरेका हुन । बडहरीमा श्रीप्रसादको साढूको घर रहेको छ । रानी आफ्नो बहिनीको घर गएकी थिइन भने श्रीप्रसाद आफ्नो साढू कहाँ गएको थियो । सोही क्रममा नजिकको आँपको बगैचामा घरायसी विवाद भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख रामकुमार यादवले बताएका छन ।
मर्नुअघि रानीले घरयासी समान्य विवादमा आफ्नै जेठाजु श्रीप्रसादले आफूलाई विवाद हुंदै पछाडिबाट खुकुरी प्रहार गरेको बयान दिएको प्रमुख रामकुमारले जनाएको छ । घरेलु विवादका कारण श्रीप्रसादले आफ्नो रानीको टाउकोमा पछाडी खुकुरी प्रहार गरेको थियो ।
खुकुरी प्रहारबाट उनको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएको छ । प्रहरीका अनुसार आरोपित घटना पश्चात फरार भएको छ उनको खोजतलाश जारी रहेको छ । प्रहरीले घटनास्थलबाट खुकुरी फेला समेत पारेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !