लोक समाचारदाता
काठमाडौँ, पुस ८ गते ।
आफूखुसी आयातित सामानको मूल्याकंन गर्दै आएको भन्सार कर्मचारीलाई सरकारले लगाम लगाउन लागेका छन ।
भन्सार कर्मचारीले आयातित सामानको मनोमानी ढंगले गर्दै आएको मूल्यांकन तथा वर्गीकरण गर्न नपाउने व्यवस्था सहितको कानून सरकारले ल्याउन लागेको छ । कर्मचारीले विदेशबाट नेपालमा आयात हुने वस्तुको मिल्दोजुल्दो वस्तुसँग दाँजेर भन्सार वर्गीकरण गर्न थालेपछि सरकारले यसलाई नियमन गर्न नयाँ नीति ल्याउन लागेको हो ।
भन्सार विभागले तयार पारेको कार्यविधिको मस्यौदामा कुनै व्यवसायी वा सर्वसाधारणले विदेशबाट सामान आयात गर्दा उक्त वस्तुको यकिन भन्सार मूल्यांकन र त्यसको वर्गीकरण नभएको भए सोको मूल्यांकन कति हुनसक्छ भनेर सामान आयात गर्नु अगावै जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।
यस प्रकारको पूर्व देश लिनको लागि भन्सार विभागमा दुई महिनाअघि नै आवेदन दिनुपर्नेछ र सोही आवेदनको आधारमा विभागले उचित मूल्यांकन गरी वस्तुको वर्गीकरण गर्नेछ । साथै उक्त वस्तुको भन्सार दर समेत उल्लेख गरिदिने प्रस्तावित कार्यविधिमा भनिएको छ ।
विभागले तयार पारेको मस्यौदा अर्थ मन्त्रालयमा पुगिसकेको छ । विभागबाट प्राप्त सो मस्यौदालाई अर्थ मन्त्रालयले आवश्यक परिमार्जन सहित मन्त्रिपरिषदमा लग्ने तयारीमा रहेको बुझिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !