लोक समाचारदाता
बिरगंज, पुस ८ गते ।
अत्यधिक बढदै गएको शितलहर र जाडोका कारण कठ्याग्रिंएर रौतहटमा चारजनाको मृत्यु भएको छ ।
गत पुस १ देखि अत्याधिक बढेको चिसो शीतलहरको कारण रौतहटको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार र पुस ३ मा रौतहटकै गुजरा नगरपालिका २ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको छ ।
बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने सहनी र तत्माको घरमा मृत्यु भएको हो ।
जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएका छन् । समाचार लेख्दासम्म मेडिकल रिपोर्ट भने आइसकेको थिएन ।
जिल्ला अस्पताल रौतहटका डा. कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको भन्ने भन्न सकिन्न किनभने रिपोर्ट जिल्ला अस्पतालले दिने होइन काठमाडौ त्रिवि टिचिङ अस्पतालले मात्र दिने भएको हुनाले केही लाग्न सक्छ ।
तर रिपोर्ट नआएपनि उनीहरुको मृत्यु अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्यापेको कारण भएको उनले भने । विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो ।
प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन् । तर मृतक परिवारलाई राहतको बारेमा केही भनेको छैन ।
चिसोबाट बच्न जिल्लाका विभिन्न स्थानीय तहमा समितिले अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरिसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक कबित कटुवालले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !