लोक समाचारदाता
जनकपुरधाम, पुस ७ गते ।
प्रदेश २ का राजधानी जनकपुरधाममा विभिन्न चार स्थानमा शंकास्पद वस्तु फेला परेको दोश्रो साता नबित्दै नक्कली बम फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रवारी बजार अगाडि फेला परेको शंकास्पद वस्तु नक्कली बम रहेको पुष्टि प्रहरीले गरेको छ ।
आइतवार अबेर राति करीब १२ बजेदेखि नै देखा परेको सो नक्कली बमलाई धनुषाको महेन्द्रनगर स्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेको छ । स्थानीयलाई तर्साउने उद्देश्यले बम जस्तै तार झुण्डिएको पुत्लाको डेन (टाउको) रहेको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताएका छन ।
नेपाली सेनाको टोलीले डिस्पोज गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरिक्षक कार्कीले बताएका छन् । स्थानीय र प्रहरीलाई झुक्याउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने बताउंदै उनले घटना बारे अनुसन्धान भइरहेको बताए ।
बीच बाटोमै सो शंकास्पद बस्तु रहेको छ कारण रातिदेखि नै घटना स्थालमा व्यापक रुपमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो ।
यसअघि अघिल्लो हप्ता जनकपुरधामको रामानन्द चौक स्थित बागवानी, संकटमोचन मन्दिर र मिल्स एरिया सहित जिल्लाको धनुषाधाम नगरपालिका स्थित एक विद्यालयमा शंकास्पद वस्तु फेला परेको थियो ।
सो शंकास्पद वस्तु मध्ये संकट मोचन मन्दिर बम रहेको पुष्टि गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !