लोक समाचारदाता
काठमाडौ, पुस २ गते ।
दार्जिंलिंगमा छायांकन भइरहेको फिल्म ‘चालबाज’ मा कलाकार भित्रने र बाहिरिने क्रममा केकी अधिकारीको ठाउँमा वर्षा शिवाकोटीलाई ल्याइएको छ ।
केही दिन अगाडि नव अभिनेता अविनाश प्रधानले पारिवारिक कारण देखाउँदै फिल्म छाडेपछि उनको ठाउँमा निर्माण टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्ध गरेका छन । अविनाशपछि अभिनेत्री केकी अधिकारीले पनि फिल्म नगर्ने निर्णय लिएपछि वर्षालाई भित्रियाइएको हो ।
हातमा परेको फिल्म हत्तपत्त नउम्काउने उनले छायांकनरत फिल्म ‘झिँगेदाउ’ का कारण ‘चालबाज’ छाड्नु परेको केकी भन्छिन । उनी चालबाज फिल्मका लागि दार्जलिंग पुग्ने तयारीमा रहेकै बेला झिगंदाउ फिल्मको छायांकन पुरा गर्न दबाव आउन थालेपछि केकीले चालबाज छोडेकी छिन ।
अभिनेत्री वर्षा स्वयंले आफू ‘चालबाज’ मा भित्रिएको जानकारी दिइन् । उनले भनिन, ‘केकी (अधिकारी) दिदीले फिल्म ‘झिँगेदाउ’ को छायांकन नसकिएका कारण ‘चालबाज’ गर्न सक्नु भएन । म उहाँको ठाउँमा भित्रिएकी हुँ । उनले आफ्नो भूमिका राम्रो लागेका कारण फिल्म गर्न तयार भएको बताइन् ।
अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । बुद्धि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि फिल्ममा अभिनय रहनेछ । फिल्ममा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको जोडी बाँधिनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !