लोक समाचारदाता
महोत्तरी, पुस २ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका स्वास्थ्य सेवाको काममा सहजताका लागि स्वयं सेविकाहरुलाई मोबाइल वितरण गरेको छ ।
पालिकाका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिनलाई मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई अब सहज हुन गएको छ ।
यसपालि १६ औंँ अन्तरराष्ट्रिय महिला स्वयंसेविका दिवसको १० दिनअघि नै नगरपालिकाले नगर क्षेत्रका ३६ महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्डसहित मोबाइल उपलब्ध गराएको मोवाइल छ ।
स्वयंसेविकासँग मोबाइल भएपछि नगरका ९ वटै वडा सर्वसाधारण महिलाले फोन गरेर आफ्ना समस्या बुझाउने गरेका छन् । फोन गर्नेमा अधिकांश महिला रहेका र उनीहरुले धेरैजसो परिवार नियोजन परामर्श, गर्भवती जाँच र साना नानीलाइ निमोनियाको समस्याबारे परामर्श लिएको स्वयंसेविकाको भनाइ छ ।
नगरपालिका भनिए पनि विपन्न ग्रामीण बस्ती रहेको नगर क्षेत्रमा अति आवश्यकीय स्वास्थ्य सेवाबाट वञ्चित समुदायले स्वयंसेविकालाई अब घरबाटै आफ्ना समस्या भन्न र सुनाउन पाएका छन् । स्वयंसेविकाले पाएका मोबाइलले सेवाग्राहीलाई पनि परामर्श र अन्य सुविधा लिन सहज भएको मटिहानीका बासिन्दाहरुको भनाई छ ।
लामो समयदेखि आधारभूत तहमा स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएका स्वास्थ्य स्वयंसेविकालाई सूचना र सञ्चार प्रविधिमा पहुँच बढाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको नगरपालिकाका मेयर हरि मण्डलले जनाएको छ । विज्ञान र प्रविधिको विकासको प्रतिफल अनुभूति नै गर्न नसकेका स्वयंसेविकालाई सेवा विस्तार र सहज बनाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको नगरप्रमुख मण्डलले भने ।
खासगरी गर्भवतीको स्याहार, खानपिन र सुत्केरी गराउने कुरामा ठीक परामर्श दिने एवं ससाना नानीको स्याहारसम्भारबारे सचेतना वृद्धिमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको नगरप्रमुख मण्डलको भनाई ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !