लोक समाचारदाता
बिरगंज, पुस १ गते ।
प्रदेश २ को उद्योग नगरी भनिएको पर्सा जिल्लामा एकैरातिमा ११ ठाउँमा आगलागी भएको छ ।
प्राप्त जानकारी अनुसार जिल्लाको पोखरिया नगरपालिकामा वडा नम्बर ४ र ५ मा सोमबार राति ११ ठाउँमा आगलागी भएको छ । साढे ९ बजेतिरदेखि शुरु भएको आगो श्रृंखलाबद्ध रुपमा ११ ठाउँमा लागेको थियो ।
वडा नम्बर ५ सतबरियामा परालको कुन्यूबाट शुरु भएको आगो मंगलबार बिहान राती १ बजे सम्म लागेको थियो । राति करीब ९ बजे वडानम्बर ५ सतबरियाका प्रेम रामको परालबाट सुरु भएको आगो अन्तिममा पोखरिया वडा नम्बर ४ पोखरिया बजार क्षेत्रसम्ममा फैलिएको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले बताएका छन् ।
त्यो निभाउँदा विनोद बाबाको झुपडी, हुँदै पोखरिया ४ को चोकट राउत डोमको झुपडी, प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरसम्म आगो पुग्यो। आगो जताजता देखियो उतै निभाइएको उनले भने । एकै रातमा शृंखलाबद्ध रुपमा अलग–अलग ठाउँमा लागेको आगोलाई पोखरिया र वीरगन्ज महानगरपालिकाबाट गएका दमकल र स्थानीय, प्रहरी, प्रशासनले राती १ बजेतिर नियन्त्रणमा लिएको नगरप्रमुख रौनियारले बताएका छन ।
आगोले प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरमा बढि क्षति पु¥याएको छ । रातको समय भएकोले विभिन्न ठाउँमा लगातार आगो लागेकोले राति आगोलाई नियन्त्रणमा लिने काममात्र भएकोले क्षतिको विवरण अहिले संकलन हुँदै गरेको पर्सा प्रहरीले जनाएको छ ।
दुईवटै वडामा गरी ११ ठाउँमध्ये चारपाँच ठाउँमा परालको कुन्यूमा र बाँकी ठाउँमा दिउसो मानिस बस्न सुत्न बनाएका झुपडी, केही घर र घुम्ती पसलमा लागेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताएका छन । एकै रातमा विभिन्न ठाउँमा लगातार कसरी आगो लाग्यो भन्ने सन्दर्भमा अनुसन्धान शुुरु भइरहेको उनले भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !