लोक समाचारदाता
जनकपुरधाम, पुस १ गते । प्रदेश २ का उच्च अदालत जनकपुरधामकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षागार्डको लोडेड हतियार लुटिएको छ । प्राप्त जानकारी अनुसार सुरक्षागार्ड महिला प्रहरी (जवान) रनिता कुमारी केवटका प्रेमीले नै गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् । सो पेस्तोलमा ७ राउण्ड गोली लोड रहेको बुझिएको छ ।
जनकपुरधाम ४ को भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् । प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराएकी छिन । तर जिप्रका धनुषाका निमित प्रमुख प्रहरी नायब उपरिक्षक सँग जानकारी लिंदा पटक पटक फोन गरेपनि कल रिसिभ गरेको छैन । अन्य प्रहरी अधिकारिक व्यक्तिले घटना लुकाउने उद्देश्यले घटना सुन्नमा आएको तर वास्तविक के हो जानकारी हुन नसकेको बताएका छन ।
हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ । हाल प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा रहेकी छिन् ।
जिप्रका धनुषाको जिन्सी तथा बन्दोबस्ती शाखाका कर्मचारीले लिएको बयानका क्रममा केवटले आफ्ना प्रेमीले पेस्तोल लगेर गएको हुनसक्ने बताएकी छन् । बयानका क्रममा केवटले आफ्ना प्रेमीको केही व्यक्तिसँग विवाद भएको र उनीहरुलाई नै डराउनका लागि हतियार लगेको हुनसक्ने बयान दिएको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !