लोक समाचारदाता
वीरगंज, मंसिर २४ गते ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १२ शिवनगर स्थित नयाँ टोलमा एक आमा छोरीको शव सडेको अवस्थामा फेला परेको छ ।
मोहन झाको घरमा डेरा गरी बस्दै आएका बारा जिल्ला कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएको जनाइएको छ ।
पर्सा प्रहरीका अनुसार मृतक दुवै आमा–छोरीको शव कपडाले बेरिएको कुहिएको अवस्थामा फेला परेको हो ।
घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।
घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ । पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् । घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक मल्लले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !