सुभाष कर्ण
जनकपुरधाम, मंसिर १९ गते ।
शुक्रवारदेखि जनकपुरधाममा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ति प्रतियोगिताका मैदान सहित सम्पूर्ण तयारी पुरा भएको छ ।
साग खेल जनकपुरधाममा हुने भएपछि जनकपुरधाम स्थित जिल्ला खेलकुद विकास समितिको वर्षौदेखि जिर्ण रहेको कवर्डहल अहिले रंगरोगन गरी चिटिक्क बनाइएको छ ।
जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ र त्यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र खेलाडीहरु पनि जनकपुरधाम आइसकेको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले बताउनु भएको छ ।
प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।
सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५ जना जनकपुरधाममा आइ पुगेको समेत उहाँले जानकारी दिनु भयो ।
साग अन्तर्गतको कुस्ती खेलमा माल्दिभ्स र भूटान बाहेक नेपाल, भारत, पाकिस्तान, बंग्लादेश र श्रीलंका सहितका ५ देशका खेलाडीले सहभागिता जनाएको छ ।
कुस्ती खेल प्रतियोगीतामा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला, भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आइसकेको समितिका प्रमुख विनोद कुमार सिंहले जानकारी दिनु भएको छ ।
प्रतियोगिता बिहान ९ बजेदेखि शुरु भएपनि खेलको औपचारिक उद्घाटन ३ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा गरिने जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !