लोक समाचारदाता
जनकपुरधाम, मंसिर १९ गते ।
धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको सबस्टेसनको कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ ।
देशभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने दाबी गरिएको छ । सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच झण्डै एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र देशभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।
‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९ सय ४५ केभीए रहेको छ, २ सय २० केभी प्रसारण लाइन मार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिने घिसिङले बताउंदै ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई देशबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने जानकारी दिनु भएको छ ।
दुई देशबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइने २ सय २० केभीमा सञ्चालनमा छ । ढल्केबरमा सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा सञ्चालन हुने छ ।
नेपाल सरकार र विद्युत प्राधिकरणको झण्डै दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष्भित्रमा ४ सय केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !