लोक समाचारदाता
काठमाडौ, मंसिर १८ गते ।
राजस्व छली गरेको अभियोगमा सुर्तिजन्य पदार्थको कारोबार गर्ने तीन कम्पनी विरुद्द मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागले जिल्ला अदालत कपिलवस्तुमा ती कम्पनीविरुद्ध एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ राजस्व छली गरेको अभियोगमा जिल्ला अदालत कपिलवस्तुमा आइतबार मुद्दा दायर गरेको हो ।

प्राप्त जानकारी अनुसार कपिलवस्तु शिवराज नगरपालिका ५ चन्दौटास्थित लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योगका प्रोप्राराईटर अब्दुल्ला मुसलमानले ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ बराबरको रकम राजस्व चुहावट गरेको छ। सोही स्थानका एनएस ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दुजमान थापाले ५ लाख ४५ हजार रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरिएको छ ।
विभागले यी दुबै सञ्चालकको विगो रकम एक करोड ३२ लाख ५४ हजार ५ सय ३६ रुपैयाँ कायम गरी अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै मायाँदेवी गाउँपालिका ८का अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोप्राराइटर ३७ वर्षीय सकिल अहमद फकिरले ५१ लाख ८६ हजार सात सय ४४ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
फकिरले १२६७.२ केजी अर्धतयारी सुर्तिवजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट व्राण्ड विनाको सुर्ति तयार गरेको थियो । यिनीहरु विरुद्ध विभागले एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँको विगो रकम कायम गरी दोब्बर रकम र ३ वर्ष कैद सजायको मांग गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !